काठमाडौँ, असार १६ — काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित नगरप्रमुख मोहन बस्नेतलाई विशेष अदालतले घुस प्रकरणमा दोषी ठहर गर्दै ८ वर्ष कैद सजायको फैसला सुनाएको छ। अदालतले थप ३ महिना कैद र करोडौं रुपैयाँ जरिवाना समेत तोकेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई नगरप्रमुखको हैसियतमा जग्गा प्लटिङको नीतिगत निर्णय गरेर ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लिएको ठहर गर्दै यस्तो फैसला सुनाएको हो।
अदालतले बस्नेतलाई २ करोड ३० लाख रुपैयाँ बराबरको जरिवाना, साथै मनी लाउण्डरिङ (सम्पत्ति शुद्धिकरण) सम्बन्धी अपराधमा ३ वर्ष कैद र २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ६६ पैसा जरिवाना तोकेको छ। साथै, सो कार्यबाट संलग्न सम्पत्ति र जग्गा समेत जफत गर्ने आदेश दिएको छ।
यस्तै, राष्ट्रसेवकको हैसियतमा संलग्न भएको सम्पत्ति शुद्धिकरणसम्बन्धी अपराधमा अदालतले थप ३ महिना १८ दिन कैद र २ करोड ६२ लाख ५४ हजार ६०० रुपैयाँ ४६ पैसा जरिवाना थप गरेको छ।
अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ अन्तर्गत बस्नेतलाई १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा र उनलाई घुस दिने पद्मा कोलोनी प्रालिका सञ्चालक राजु कँडेललाई ९ लाख २२ हजार ४६० रुपैयाँ ३२ पैसा पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ।
राजु कँडेल पनि घुस दिएकै अभियोगमा दोषी ठहर भई बस्नेत सरहकै सजाय र जरिवानामा परेका छन्।
मोहन बस्नेत नेपाली कांग्रेसबाट उम्मेदवार भई २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार नन्दन हरि गौतमलाई १८१८ मतले हराउँदै नगरप्रमुख बनेका थिए।
यो फैसला भ्रष्टाचारविरुद्धको कडा सन्देशको रुपमा हेरिएको छ
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता