रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे ‘बृहत् एकता’ सहमति
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच ७ बुँदे सहमति भएको छ। ‘बृहत् एकता’ शीर्षकमा भएको उक्त सहमतिअनुसार प्रतिनिधि सभाको आगामी निर्वाचनपछि बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार हुने भएका छन् भने रवि लामिछाने पार्टीको केन्द्रीय सभापति रहनेछन्।
सहमति पत्रमा जनआन्दोलन, विशेषगरी २०८२ साल भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका शहीद तथा घाइतेहरूको बलिदानलाई स्मरण गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाले उठाएको आन्दोलनको अपनत्व लिने प्रतिबद्धता जनाइएको छ। घाइते तथा शहीद परिवारका मागहरूलाई यथोचित सम्बोधन गर्ने उल्लेख गरिएको छ।
सहमितिअनुसार आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधार कार्यान्वयन गरिने जनाइएको छ। उदार अर्थतन्त्र, सामाजिक न्याय र बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र सुशासन कायम गर्ने प्रतिबद्धता पनि सहमतिमा समेटिएको छ।
बृहत् एकतापछि स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी” नै रहने, झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहने, चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने उल्लेख छ।
पार्टीको संगठनात्मक संरचना थप सक्षम बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने सहमति भएको छ। साथै, सहमतिअनुसार पार्टीसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ।
सहमितिको अन्तिम बुँदामा लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय