रास्वपा सभापति रवि लामिछानेको अदालतमा इन्कारी बयान

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन जिल्ला अदालतमा प्रहरीलाई दिएकै जस्तो इन्कारी बयान दिएका छन्। बुधबार अदालतमा उपस्थित भएका लामिछानेले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा आफ्नो कुनै संलग्नता नरहेको बयान दिएका हुन्।


बयानक्रममा लामिछानेले भने, “एउटै कुरा कति पटक भन्नु, कति ठाउँमा यही कुरा दोहोर्‍याउनु? मेरा कुरा उही हुन्! पोखरा, रूपन्देही, काठमाडौंमा जे भनेँ, त्यही हो। उही कुरा भन्दै दिक्क लागिसक्यो।”


करिब साढे ३ घण्टा लामो बयानपछि सुरु भएको थुनछेक बहसमा सरकारी वकिल पक्षबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए। उनीहरूले साहारा चितवन सहकारीको बचत रकम अपचलनमा लामिछाने संलग्न रहेको भन्दै अभियोगपत्रअनुसार सजायको माग गरेका छन्।


त्यसपछि सहकारी पीडित (जाहेरवाला) पक्षबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका थिए। उनका अनुसार लामिछाने गोरखा मिडिया नेटवर्क प्रालिको सेयर सदस्य भएकाले नाफा हुँदा हक राख्ने र घाटा हुँदा दायित्व पनि लिनुपर्ने बताएका थिए।


“काटिएका चेकको परिचालन रविले नै गरेका छन्। सहकारीको रकम गोरखा मिडिया, आफूसँगै श्रीमती निकिता पौडेल र गोपिकृष्ण मुभिजसम्म पुगेको देखिन्छ। ठगी जस्ता अपराधहरू समूहमा हुने गर्छन्, त्यसैले कानुनी कारबाही हुनुपर्छ,” अधिवक्ता काफ्लेले तर्क गरे।


थुनछेक बहस जारी रहेको र अदालतले छिट्टै निर्णय लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया