विद्यालय शिक्षा ऐनका लागि दबाब: शिक्षामन्त्री र शिक्षक प्रतिनिधिबीच वार्ता जारी

काठमाण्डौं, वैशाख १४ – विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षक प्रतिनिधिहरू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबीच आज बिहानदेखि मन्त्रालयमा वार्ता जारी छ।

शुक्रवार साँझ शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेका थिए। सोही सन्दर्भमा शिक्षक प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए तर सरकारले गठन गरेको वार्ता टोलीप्रति असहमति जनाउँदै उनीहरू गेटबाटै फर्किएका थिए।

आज भने शिक्षक महासंघका प्रतिनिधिहरू मन्त्रालयमै पुगेका छन् र शिक्षामन्त्रीको उपस्थितिमा औपचारिक वार्ता भइरहेको छ।

गत वर्षको चैत्र २५ गतेदेखि शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा चरणबद्ध आन्दोलन गर्दै आएका छन्। उनीहरूले सरकारले ऐन जारी नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन्।

यसैबीच, आन्दोलनका कारण देशभरका विद्यालयहरूको पठनपाठन प्रभावित हुँदै गएको छ।

प्रतिक्रिया