प्रहरी प्रमुख एमालेको भ्रातृ संगठनको सहअध्यक्ष जस्तो व्यवहार गर्दैछन्ः अध्यक्ष लिङदेन

काठमाडौं, – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी महानिरीक्षक (आईजिपी) दीपक थापामाथि सत्तारूढ दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष जस्तो व्यवहार गरिरहेको गम्भीर आरोप लगाएका छन्।

मंगलबार काठमाडौंको बल्खुमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवारी प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख रहेको बताएका हुन्। उनले राज्य संयन्त्रको गैरजिम्मेवार कार्यबाट हिंसा भड्किएको भन्दै त्यस दिन दुई दर्जनभन्दा बढी व्यक्तिलाई गोली लागेको र दुई जनाको मृत्यु भएको दाबी गरे।

लिङदेनले त्यस दिनको घटनामा प्रहरीले नै म्याद गुज्रिएको अश्रुग्यास प्रयोग गरेको आरोप लगाउँदै भने, “अनि दुर्गा प्रसाईंले ल्याएर हानेको अश्रुग्यास?”

उनको भनाइ थियो, “२००८, २०१०, २०१२ को एक्सपाइरी डेट भएको अश्रुग्यास प्रयोग भयो। त्यो प्रसाईंले ल्याएको हो र? अहिलेको प्रहरी प्रमुख त एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक भन्छ— हामीले हानेको अश्रुग्यास कसरी एक्सपायर हुनसक्छ?”

अध्यक्ष लिङदेनले प्रहरी संस्था राजनीतिक दलको भातृ संगठनको रूपमा होइन, स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्नुपर्ने बताए।

उनले थपे, “यो देश गणतन्त्रवादीहरुको मात्रै होइन, राजा आउनुपर्छ भन्नेहरूको पनि हो। त्यसैले सञ्चार गृहहरूले अफवाह फैलाउने कार्य नगर्न आग्रह गर्दछु।”

लिङदेनको यस्तो आरोपसँगै चैत १५ को घटनालाई लिएर राज्य संयन्त्रमाथि उठेका प्रश्न झनै चर्किंदै गएका छन्।

प्रतिक्रिया