पोखरा, – पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा भएको बेलुन विस्फोटनका कारण उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्। घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४१ वर्षीय भारतीय नागरिक कमलेस कुमारलाई पक्राउ गरेको छ।
फागुन ३ गते आयोजित उद्घाटन समारोहमा रिमोटबाट दीप प्रज्वलन गरी बेलुन उडाउने क्रममा आगाको ज्वालाले बेलुनमा छोएपछि ठूलो आवाजसहित विस्फोट भएको थियो। विस्फोटको ज्वालाका कारण मन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए।
घटनापछि उनीहरूलाई पोखरामै प्राथमिक उपचार गरी हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो। किर्तिपुरस्थित जलन अस्पतालमा उपचारपछि मन्त्री पौडेल डिस्चार्ज भइसकेका छन् भने मेयर आचार्यको उपचार अझै जारी छ।
यस घटनापछि सरकारले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार विस्फोट भएको बेलुनमा हाइड्रोजन ग्यास भरिएको थियो, जुन अत्यन्तै ज्वलनशील हुन्छ। सामान्यतया यस्ता समारोहहरूमा सुरक्षित ग्यास प्रयोग गरिनुपर्ने भए पनि सुरक्षाको कमजोरी देखिएको छ।
छानबिन समितिको प्रतिवेदनपछि घटनाको वास्तविक कारण सार्वजनिक हुने अपेक्षा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार