काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय भइरहँदा राजसंस्थाका पक्षधरहरूले पनि राजनीतिक गतिविधि तीव्र बनाएका छन्। यसबीच, सत्तारूढ नेपाली कांग्रेस, नेकपा (एमाले) तथा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले राजसंस्थाको समर्थनमा हुने अराजक गतिविधिहरूलाई प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको प्रतिक्रिया
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली ले गत शुक्रबार कर्णाली प्रदेशसभामा सम्बोधन गर्दै राष्ट्रिय एकतामा भाँजो हाल्ने कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका थिए। त्यस्तै, बिहीबार महोत्तरीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा ले गणतन्त्र नेपालको स्थायित्व आवश्यक रहेको बताउँदै राजसंस्थाको कुनै ठाउँ नरहेको स्पष्ट पारे।
यस्तै, पार्टीको तराई-मधेश जागरण अभियान का क्रममा रौतहट पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहासलाई पछाडि फर्काउन नसकिने बताउँदै राजसंस्थाका पक्षधरहरूले कुनै अप्राकृतिक गतिविधि गरे प्रतिवाद गर्नुपर्ने बताए। माओवादी केन्द्रले यसै कारण हुलाकी राजमार्ग केन्द्रित एक महिने अभियान स्थगित गरेको छ।
पूर्वराजाको गतिविधि र सुरक्षा सतर्कता
पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय सार्वजनिक कार्यक्रमहरूमा नियमित रूपमा उपस्थिति जनाइरहेका छन्, जसका कारण राजसंस्थाको समर्थनमा गतिविधि बढेको देखिन्छ। यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजालाई स्वागत गर्ने तयारी भइरहेकाले काठमाडौं उपत्यकाभित्र सुरक्षा सतर्कता कडा पारिएको छ।
राजनीतिक दलहरूको आक्रामक चेतावनी र पूर्वराजाको निरन्तर सक्रियताले आगामी दिनमा मुलुकको राजनीतिक परिदृश्यमा थप बहस निम्त्याउने देखिन्छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता