राजु पाण्डे पुनः पदमा फर्किए, उच्च अदालत पाटनको अन्तरिम आदेशपछि पुनः कार्यभार सम्हाले

काठमाडौं, असार ५ – Aama Darshan News


काठमाडौं महानगर प्रहरी बलका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजु पाण्डे पुनः आफ्नो कार्यस्थलमा फर्किएका छन्। उनलाई केही समयअघि निलम्बन गरिएको थियो तर उच्च अदालत पाटनले निलम्बनसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि उनी बिहीबारदेखि पुनः कार्यभारमा फर्किएका हुन्।


पदभार ग्रहणपछि एसएसपी पाण्डेले संक्षिप्त प्रतिक्रिया दिँदै भने,


“म पुराना घटनाहरूलाई बिर्सेर, नयाँ उत्साहका साथ राजधानीको शान्ति सुरक्षा र नागरिक सेवामा पुनः क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दछु।”


उनीमाथि पछिल्लो समय अनुशासनसम्बन्धी विषयमा छानबिन हुँदै आएको थियो। तर उनले उक्त निर्णयविरुद्ध अदालतमा रिट दायर गरेपछि अदालतले न्यायिक पुनरावलोकनको आवश्यकता ठानी अन्तरिम आदेश जारी गरेको हो।


कार्यस्थलमा फर्किएलगत्तै उनले महानगर प्रहरी बल अन्तर्गतका अधिकृत र सुरक्षाकर्मीहरूसँग बैठक गर्दै सेवा प्रवाहमा चुस्तता र सार्वजनिक सुरक्षामा कुनै पनि ढिलासुस्ती नहुने स्पष्ट सन्देश दिएका छन्।


प्रहरी संगठन भित्रको आन्तरिक प्रक्रिया र कानुनी व्याख्याका कारण पाण्डेको पुनरागमनलाई सुरक्षा वृत्तमा चासोका साथ हेरिएको छ।

प्रतिक्रिया