रवि लामिछाने रिट निवेदनमा सर्वोच्चमा आज सुनुवाइ सुरु — जोशीको निवेदन पनि सँगै


काठमाडौँ, अामा दर्शन न्यूज — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतमा आज पुनः सुनुवाइ सुरु भएको छ। लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा उनलाई थुनामा राख्ने बुटवल उच्च अदालतको आदेशविरुद्धको ७३ नम्बर निवेदनमाथि आज सुनुवाइ भइरहेको हो।


न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ सुरु भए पनि निर्णय नभएपछि हेर्दाहेर्दैमा राखिएको थियो भने बुधबार स्थगित गरिएको थियो। आज भने सोही इजलासमा मुद्दाको सुनुवाइ अघि बढाइएको छ।


लामिछानेसँगै सो सहकारी प्रकरणमा मुछिएका पूर्व डिआइजी छविलाल जोशीको ७३ नम्बर निवेदन पनि संयुक्तरूपमा सुनुवाइ भइरहेको छ। मंगलबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, दीपेन्द्र झा, डा. नारायणदत्त कँडेल, र विवेक राउतलगायतले बहस गरेका थिए।


आज भने वरिष्ठ अधिवक्ता रमन श्रेष्ठसहितका कानुन व्यवसायी लामिछानेको तर्फबाट बहसमा सहभागी छन्। त्यस्तै, जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरिरहेका छन्। बहसपछि पीडित र सरकारी वकिलको तर्फबाट समेत भनाइ राखिने कार्यक्रम रहेको छ।


सुनुवाइको निष्कर्षका आधारमा लामिछानेको रिट तथा थुनाबारे अदालतको निर्णय अपेक्षित गरिएको छ।


प्रतिक्रिया