काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई कुनै पनि दबाबमा नपरी प्रमाण र तथ्यमा आधारित अनुसन्धान गर्न निर्देशन दिएका छन्।
शनिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्माण गरिएको ‘द ब्लु पेभिलियन’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विधिको शासन तथा शान्ति सुरक्षा सुनिश्चित गर्न प्रहरी प्रशासन दृढताका साथ अघि बढ्नुपर्ने बताए। उनले प्रहरी सेवाप्रति जनताको उच्च अपेक्षा रहेको उल्लेख गर्दै निष्पक्ष र न्यायसंगत ढंगले कार्य सम्पादन गर्न आग्रह गरे।
निष्पक्षता र विधिको शासनको प्रतिवद्धता
प्रधानमन्त्री ओलीले प्रहरी संगठनलाई जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले निष्पक्षता, पारदर्शिता र विधिको शासनलाई केन्द्रमा राखी काम गर्नुपर्ने बताए। उनले भने, “तपाईंहरू संविधान र कानुनबमोजिम देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस्। कुनै तस्कर, भ्रष्ट वा ठगमाथि निर्धक्क भएर अनुसन्धान गर्नुस्। शान्ति सुव्यवस्था कायम गर्दै राष्ट्रिय एकता र हितलाई प्राथमिकतामा राख्नुस्।”
७५ करोड लागतमा निर्माण भएको पेभिलियन
वि.सं. २०७७ जेठ ११ गते शिलान्यास गरिएको ‘द ब्लु पेभिलियन’ को निर्माण सम्पन्न भई उद्घाटन गरिएको हो। उक्त संरचना निर्माणमा ७५ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को विमोचन गरेका थिए। साथै, भवन निर्माणमा विशेष योगदान दिने अधिकारी, प्राविधिक तथा निर्माणकर्ताहरूलाई सम्मान प्रदान गरिएको थियो।
प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आर्थिक सहयोग
कार्यक्रमका क्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधानमन्त्री ओलीमार्फत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा ७४ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।
प्रहरी ऐन संशोधन प्रक्रिया अगाडि बढ्दै
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको ऐन संशोधन विधेयक संसद्मा पेश भइसकेको जानकारी गराउँदै आउने सुझावहरूलाई समेटेर चाँडो पारित गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद ध्रुवबहादुर प्रधानलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार