काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने करिब साढे पाँच महिनापछि पार्टी नेतृत्वमा फर्कने तयारीमा छन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि लामिछाने पार्टीको जिम्मेवारीबाट अलग रहेका थिए।
आज (सोमबार) बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकमा उनलाई पुनः सभापतिको जिम्मेवारी दिने प्रस्ताव पेश गरिनेछ। बैठकले उक्त प्रस्ताव पारित गरेमा दोस्रो चरणको बैठकको अध्यक्षता लामिछानेले गर्नेछन्। रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार आइतबार बसेको सचिवालय बैठकले सभापति लामिछानेलाई पुनः जिम्मेवारी दिने निर्णय गरेको थियो।
गत कात्तिक २ गते पक्राउ परेपछि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको थियो। यसै सन्दर्भमा कास्की जिल्ला अदालतमा मुद्धा दायर भएपछि पुस ८ गते सभामुख देवराज घिमिरेले उनलाई सांसद पदबाट निलम्बन गरेका थिए।
निलम्बन फुकुवाका लागि लामिछानेले माघ महिनामा सभामुखसमक्ष आग्रह गरे पनि उक्त माग अस्वीकृत गरिएको थियो। यद्यपि, उनीमाथि अदालतले दोषी ठहर गरिसकेको छैन, जसकारण पार्टी नेतृत्वमा फर्कन कुनै कानुनी अवरोध नरहेको रास्वपाका प्रवक्ता झाको दाबी छ।
रास्वपाको पछिल्लो निर्णयसँगै लामिछाने पुनः पार्टी नेतृत्वमा सक्रिय हुने देखिएको छ, तर सांसद पदको निलम्बनबारे अझै अन्योल कायम छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता