काभ्रेमा जन्ती पुर्‍याएर फर्कँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु

काभ्रे, फागुन १२ – काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका-३ कुन्डोलमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धादिङबाट जन्ती पुर्‍याएर फर्कँदै गरेको बस कच्ची सडकमा मोड्ने क्रममा सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ना ४ ख ८८१७ नम्बरको बस बिहान ५:४० बजे दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी काभ्रेको तेमाल गाउँपालिका-१ निवासी ५० वर्षीय रामासिंह तामाङको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार बसमा रहेका अन्य यात्रुहरूको अवस्था अझै स्पष्ट नभएको बताइएको छ। उद्दार कार्य जारी रहेको छ भने घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यस दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कच्ची सडक र घुम्ती मोडका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीले यात्रुहरूलाई जोखिमपूर्ण सडकमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया