— Aama Darshan News | काठमाडौं
काठमाडौं — काठमाडौं परोपकारस्थित पुलमुनी एक पुरुषको चक्कु प्रहारबाट हत्या भएको छ। हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी घटनासम्बन्धी अनुसन्धान अघि बढाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले घटनाबारे जानकारी दिएका हुन्।
हत्या हुने व्यक्ति काभ्रेको भुम्लु गाउँपालिका–१० का ४२ वर्षीय विक्रम तामाङ (माइला) रहेका छन्। वैशाख १६ गते बिहान करिब ११:३० बजे धारिलो हतियार प्रहारबाट गम्भीर घाइते अवस्थामा फेला परेका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं लगिएको थियो। उपचारका क्रममा सोही दिन दिउँसो १२:३० बजे उनको मृत्यु भएको हो।
प्रहरीले विभिन्न प्राविधिक र अनुसन्धानका विधिहरू प्रयोग गरी हत्या आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–७ स्थायी घर भई हाल डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरेको छ।
हत्या पछाडि रहेको कारण
प्रारम्भिक अनुसन्धान अनुसार दुवै जना सामान्य श्रमिक वर्गका व्यक्ति हुन् र उनीहरू सोही क्षेत्रमा बस्दै आएका थिए। प्रहरीका अनुसार हत्या अभियुक्त श्रेष्ठले “पुलमुनी पिसाब गर्दा गाली गर्ने” विवादका कारण झडप भएको बयान दिएका छन्। श्रेष्ठले प्रहरीसमक्ष दिएको बयान अनुसार, “त्यसदिन भेट्दा रिस उठेर हानिदिएँ। त्यसपछि म भागेँ।”
घटनास्थलबाट बरामद प्रमाणहरू
प्रहरीले घटनामा प्रयोग भएको चक्कु, लुगा तथा एउटा मोबाइल फोन पनि बरामद गरेको छ। आरोपी श्रेष्ठमाथि ज्यान सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान अघि बढाइएको एसपी जिसीले जानकारी दिएका छन्।
अपराध अनुसन्धानमा कडाइ
काठमाडौं उपत्यकामा पछिल्लो समय हुने घटनाहरूमा अपराध अनुसन्धान कार्यालयले सक्रियता बढाउँदै आएको छ। यस घटनामा पनि प्रहरीले छिटो कदम चाल्दै अभियुक्त पक्राउ गरी प्रमाण संकलन गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता