सुनसान कोरला बोर्डर पर्यटकले गुल्जार

जोमसोम—  बाह्रै महिना फुर्सदिला जस्ता देखिने लोमान्थाङ—२  छोसेर स्थित नेचुङका सुरक्षाकर्मी दशैपछि भने निकै व्यस्त देखिन्छ । कोरलानाका हेर्न आउने पर्यटकको विवरण राख्ने र उनीहरुको ईन्ट्री गर्नमानै उनीहरु व्यस्त देखिएका छन् । छोसेको नेचुङमा सशस्त्र प्रहरी बलको बीओपी र ईलाका प्रहरी कार्यालय छ ।  नेचुङ बीओपीमा एक जना प्रहरी निरीक्षकसहित २१ जना सशस्त्र प्रहरी सीमा सुरक्षाका लागि बसेका छन् । त्यहाँको ईलाका प्रहरी कार्यालयमा एक जना प्रहरी सहायक निरीक्षकको कमाण्डमा ८ जना प्रहरी बस्छन् ।

 सधैं भरी सुनसान रहने छोसेरको नेचुङमा दशैंको बिदा अवसर पारेर आन्तरिक पर्यटक कोरलानाका जान थालेपछि त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई सुरक्षा चेकजाँच र ईन्ट्री गर्न भ्याई÷नभ्याई भएको हो । उपल्लो मुस्ताङको तापक्रम माईनसमा झरेपनि कोरलानाकाको चर्चा चुलिएपछि आन्तरिक पर्यटकलाई कोरलानाका हेर्ने मोह बढेको हो ।

२०७० साल अघि उपल्लो मुस्ताङमा खासै पर्यटक जाने थिएनन् । बिदेशी पर्यटक पनि चर्को रोयल्टी शुल्क तिर्न पर्ने भएकाले सीमित विदेशी पर्यटक मात्र त्यहाँ जाने गथ्र्ये । भारतीय नाकाबन्दीपछि सरकारले उत्तरी कोरलानाकालाई प्राथमिकतामा राखेपछि एकाएक कोरला क्रेज बढेको हो । सरकारले २०७४ सालदेखि कोरला जोड्ने राष्ट्रिय राजमार्ग विस्तार गर्दैछ । राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक मार्ग सहज बन्दै जान थालेपछि आन्तरिक पर्यटक सजिलै बोर्डर पुग्न सक्छन् ।

  दशैं टिका सकिएलगत्तै बिहिबारदेखि उल्लेख्य आन्तरिक पर्यटक कोरलानाका पुगेर फर्किने गरेको  छोसेर स्थित सशस्त्र प्रहरी बल(बीओपी)नेचुङका ईञ्चार्ज प्रहरी निरीक्षक भीमबहादुर क्षेत्रीले जानकारी दिए । दशैं—तिहार बिदामा कोरलानाका  घुम्न आएका पर्यटकले आफुहरु निकै व्यस्त रहेको सशस्त्र प्रहरी निरीक्षक क्षेत्रीको भनाई छ ।


छोसेर स्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चेकपोष्टका अनुसार बिहिबारदेखि शनिबारसम्ममा कुल  ६१८ वटा सवारी साधन भित्रिएको बताए । जसमा कुल २ हजार ३७४ जना आन्तरिक पर्यटकले कोरला बोर्डरको अवलोकन गरेका  छन् । दशैं टिकापछि कार,जीप र भ्यान २३३ वटा र मोटरसाईकल ३८५ वटा नेचुङ सुरक्षा चेक पोष्टमा ईन्ट्री भएको सशस्त्र प्रहरी ईञ्चार्ज क्षेत्रीले उल्लेख गरे ।

 दशै टिकापछिको बिहिबार जीपकार ३३ र मोटरसाईकल ७०, शुक्रबार जीपकार १०३ वटा र मोटरसाईकल १५८ वटा  र शनिबार जीपकार  ९७ वटा र मोटरसाईकल १५७ वटा नेचुङ चेक पोष्टमा ईन्ट्री भएको ईञ्चार्ज क्षेत्रको भनाई छ । उनले तिहार र छठ पर्व सम्म आन्तरिक पर्यटक कोरला बोर्डर हेर्न आईरहने उल्लेख गरे ।

कोरला पुगेका आन्तरिक पर्यटकले नेपा—चीनबीचको पठार भूगोल र रित्तो नाका हेरेर फर्किने गरेको पाईएको छ । कोरलामा चीनले आफ्नो ठुला ठुला भौतिक संरचना निर्माण गरिसक्दा नेपालतर्फ कुनै संरचना बनेको छैन । यद्यपी लोमान्थाङ गाउँपालिकाले हालै छोसेर स्थित सशस्त्र प्रहरीको बीओपीसंग सहकार्य गरी चन्द्र सूर्य अकिंत राष्ट्रिय झन्डा गाँडेको छ । कोरलानाका हेर्न पुगेका पर्यटक त्यहा तस्विर खिचेर फर्किन्छन् ।

दशैंपछि मुस्ताङमा औसत दिनहु ७ हजार पर्यटक आउने जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी दिनेश गौतमले जानकारी दिए । दशैं—तिहार बिदाको मेलोमा मुस्ताङ घुम्ने पर्यटक ह्वात्तै बढेको हो । मुस्ताङ घुम्नेमा २० देखि ५० वर्ष उमेर समुहका पर्यटक बढी रहेको छ । पर्यटक बढेपछि तल्लो मुस्ताङ देखि उपल्लो मुस्ताङका झन्डै ३ सय बढी होटलहरु पर्यटकले भरिएको बताईएको छ ।


नेपाल —चीन कोरला बोर्डर हेर्न आन्तरिक पर्यटकको ताँती (तस्विर : भीमबहादुर क्षेत्री ।


प्रतिक्रिया