सिन्धुलीमा प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सुरु

सिन्धुलीमा प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सुरु

सिन्धुली, ___ – बागमती प्रदेशस्तरीय महिला कृषि उद्यम मेला आजदेखि सुरु भएको छ। जिल्ला समन्वय समितिका प्रमुख कारसाङ्ग लामाको प्रमुख आतिथ्यतामा मेलाको उद्घाटन गरिएको हो। लामाले नीमको बिरुवा रोपेर मेलाको औपचारिक सुरुवात गर्नुभएको थियो।

उद्यमशील महिलालाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित यस मेलामा कृषि उत्पादन तथा उद्यमीहरूलाई व्यवसाय प्रवर्द्धन गर्ने, उत्पादनमा अभिवृद्धि ल्याउने, सिप र प्रविधिको आदानप्रदान गर्ने तथा कृषि उपजहरूको बजार प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्ने लक्ष्य रहेको छ। साथै, महिलाको व्यवसायिक सीप र क्षमतामा वृद्धि गर्दै उत्पादित तथा प्रशोधित कृषिजन्य वस्तुहरूको उचित मूल्य सुनिश्चित गर्ने उपायबारे जानकारी दिने उद्देश्य रहेको छ।

प्रदेशकै नमुना मेला

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले यो मेला हालसम्मको बागमती प्रदेशकै एउटा नमुना मेला भएको बताउनुभयो। तीन दिनसम्म सञ्चालन हुने यस मेलाले सिन्धुली लगायत अन्य जिल्लाका स्थानीय कृषक तथा उद्यमीलाई व्यावसायिक अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मेलाले सिन्धुलीको पहिचान अझ मजबुत बनाउने र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने अवसर सिर्जना गर्ने उल्लेख गर्नुभयो।

मेला आयोजक तथा व्यवस्थापन

मेला सौगात लघु उद्यम सहकारी संस्था लिमिटेड सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिका, कृषि विकास कार्यालय, उद्योग वाणिज्य कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा सञ्चालन गरिएको छ। साथै, मुना कृषि लिमिटेड ललितपुरले प्राविधिक सहयोग प्रदान गरेको छ।

१० हजार अवलोकनकर्ता आउने अपेक्षा

मेलाको मुख्य स्थल कमलामाई नगरपालिका-६ स्थित खुला मञ्चमा तीन दिनसम्म सञ्चालन हुने छ। आयोजकका अनुसार करिब १० हजारले मेला अवलोकन गर्ने अनुमान गरिएको छ। मेलामा गर्मी मौसमलाई ध्यानमा राख्दै आगन्तुकहरूका लागि निःशुल्क मह र मोही वितरणको समेत व्यवस्था गरिएको छ।

यस मेलाले कृषि उद्यमशीलतालाई प्रवर्द्धन गर्दै महिला सशक्तीकरणको दिशामा महत्वपूर्ण योगदान दिने आयोजकहरूको विश्वास छ।

प्रतिक्रिया