काठमाडौं । प्रतिनिधिसभामा रास्वपा सांसद अशोक कुमार चौधरीले खोटाङ जिल्लाको हलेसी बजारमा भएको विनाशकारी आगलागीबारे सदनको ध्यानाकर्षण गराएका छन्।
आइतबार साँझ करिब ६ बजे पदम राईको भान्छाकोठाबाट सुरु भएको आगलागी चार घण्टापछि मात्र नियन्त्रणमा आएको थियो। दमकल अभावका कारण आगो तत्काल निभाउन नसक्दा करिब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। सौभाग्यवश, कुनै मानवीय क्षति नभए पनि धनमाल जलेर नष्ट भएको सांसद चौधरीले जानकारी गराए।
सदनलाई सम्बोधन गर्दै उनले भने, "यो कुनै पहिलो घटना होइन। नेपालका गाउँ, शहर, बजारहरूमा बारम्बार यस्ता आगलागीका घटनाहरू दोहोरिरहेका छन्। तर, दुःखको कुरा के हो भने, सरकारको भूमिका यी घटनाहरूमा न्यून देखिन्छ। जब राज्य आफ्नो जिम्मेवारीबाट पन्छिन्छ, तब निर्दोष नागरिकहरूले आफ्नो घर, सम्पत्ति, व्यवसाय—सबै गुमाउन बाध्य हुन्छन्।"
सांसद चौधरीले हलेसी घटनाबाट पाठ सिक्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारसमक्ष पाँच बुँदे माग अघि सारे:
1. प्रत्येक नगरपालिकामा कम्तीमा एक दमकल अनिवार्य रूपमा उपलब्ध गरिनुपर्छ।
2. नेपालभर अग्नि नियन्त्रण नीति अद्यावधिक गर्दै भवन निर्माणमा अनिवार्य अग्नि प्रतिरोधी मापदण्ड लागू गरिनुपर्छ।
3. Occupational Safety and Health (OSH) को प्रभावकारी कार्यान्वयन गर्दै आगलागी न्यूनीकरणका लागि पूर्वतयारी गरिनुपर्छ।
4. स्थानीय तह, सुरक्षा निकाय र नागरिकस्तरबाट अग्नि नियन्त्रण तथा उद्धार प्रशिक्षण कार्यक्रम नियमित गरिनुपर्छ।
5. यस्ता घटनाहरूलाई सरकारले प्राथमिकतामा राख्दै तत्काल राहत तथा पुनःस्थापनाको ठोस योजना ल्याउनुपर्छ।
सांसद चौधरीले सात महिना अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दर्ता गराएको गैरसरकारी विधेयक तत्काल सदनमा पेश गर्नुपर्ने माग पनि राखे। "आगलागीका घटनाहरू दिनप्रतिदिन बढिरहेका छन्। यहि आवश्यकतालाई महसुस गर्दै हाम्रो विधेयक अगाडि बढाउन अनुरोध गर्दछु," उनले भनेका छन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता