काठमाडौं – सांसद अशोक कुमार चौधरीले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कोषलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभामा स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गर्दै सांसद चौधरीले स्वास्थ्य सेवा संविधानप्रदत्त मौलिक हक भए पनि यसको प्रभावकारी कार्यान्वयनमा अझै धेरै चुनौती रहेको उल्लेख गरे।
"संविधानको धारा ३५ अनुसार प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था छ। तर, व्यवहारमा अझै पनि ग्रामीण भेगका नागरिक तथा विपन्न समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित हुन सकेको छैन," उनले भने।
सुनसरी, इटहरी भ्रमणका क्रममा उनले मुटु तथा मिर्गौला रोगबाट पीडित बिरामीहरूलाई स्वास्थ्य उपचारको सुविधा नपाएको गुनासो सुनेको उल्लेख गर्दै उनले भने, "नाै महिनादेखि बिरामीहरूले औषधि उपचारका लागि पाउनुपर्ने सुविधा रोकिएको गुनासो गरेका छन्। यसले उनीहरूको उपचार प्रक्रियामा गम्भीर असर पुगेको छ।"
सांसद चौधरीले स्वास्थ्य मन्त्रीलाई तत्काल आवश्यक बजेट वितरण गरी सेवाको निरन्तरता सुनिश्चित गर्न आग्रह गरे। साथै, सामाजिक सुरक्षा कोष, विपन्न नागरिक औषधि उपचार कोष, १५ वर्षमुनिका बालबालिका तथा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूको मुटु रोग उपचार कार्यक्रमलाई सरल, सहज र प्रभावकारी रूपमा लागू गर्नुपर्ने आवश्यकता औंल्याए।
इटहरी निवासी तीन वर्षीय ब्लड क्यान्सरपीडित निश्चल आचार्यको उदाहरण दिँदै उनले विपन्न परिवारका बालबालिकालाई सहज रूपमा स्वास्थ्य बीमामा आबद्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरे।
"देशका सबै नागरिकको स्वास्थ्य मात्र नभई समग्र विकास र सामाजिक स्थिरताको प्रवर्द्धनका लागि स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी बनाउनु जरुरी छ," चौधरीले भने।
उनले स्वास्थ्य बीमासम्बन्धी सेवा प्रवाहलाई सहज बनाउँदै शल्यक्रियाको मिति समयमै प्रदान गर्न, औषधिको गुणस्तर कायम राख्न र झारो टार्ने प्रवृत्ति अन्त्य गर्न सरकारलाई आग्रह गरेका छन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता