रुपन्देही, ७ साउन – राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) बाट रुपन्देही–३ मा आगामी स्थानीय तथा उपनिर्वाचनको सन्दर्भमा युवा अधिवक्ता शुलभ खरेलको नाम आन्तरिक उम्मेदवारका रूपमा अघि आएको छ। संविधान र न्याय प्रणालीमा उल्लेखनीय योगदान दिँदै आएका खरेल पछिल्लो समय युवामाझ चर्चित अनुहारको रूपमा स्थापित हुँदै गएका छन्।
संविधानको पक्षमा अडिग आवाज उठाउँदै खरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटनको विरुद्ध सर्वोच्च अदालतमा कानुनको विद्यार्थी र सबैभन्दा कान्छा रिट निवेदकको रूपमा रिट दायर गरी ऐतिहासिक बहस प्रस्तुत गरेका थिए। यही भूमिकाले उनलाई राष्ट्रिय तहमा चिनाएको हो।
संविधानको रक्षा र न्यायिक सुधारका पक्षमा उभिंदै उनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता रिटमा मस्यौदा तयारीदेखि न्यायिक सुशासनका पक्षमा उल्लेखनीय योगदान पुर्याए। राष्ट्रपतिबाट प्रदान गरिने जनसेवा श्री पदकबाट सम्मानित खरेलले विधिको शासन र संस्थागत न्यायप्रणालीको पक्षमा सदैव आवाज उठाउँदै आएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसदहरू विरुद्ध निर्वाचन आयोगले गरेको जरिवाना तथा अधिकार मिचाइको निर्णयविरुद्ध खरेलले निर्णायक कानुनी हस्तक्षेप गर्दै सांसदहरूको अधिकारको रक्षा गरेका थिए। त्यस्तै, थुनामा रहेका लालबहादुर विकको रिहाइका लागि सांसद सोबिता गौतमसँगै उच्च अदालतमा बहस गरेर नागरिक स्वतन्त्रताको रक्षा गरेका थिए।
शैक्षिक पृष्ठभूमिमा समेत खरेल उच्च उपलब्धिका धनी छन्। उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको चक्रवर्ती हाबी ल कलेज दुवैमा एलएलएम प्रवेश परीक्षामा शीर्ष स्थान हासिल गरेका थिए। त्यसपछि उनी हार्वर्ड, मिचिगन र यूसी बर्केली विश्वविद्यालयहरूबाट एलएलएमका लागि छनोटमा परे। अन्ततः उनले प्रतिष्ठित मिशिगन ल स्कूलबाट पूर्ण छात्रवृत्तिमा स्नातकोत्तर डिग्री प्राप्त गरे।
संवैधानिक तथा फौजदारी कानुनमा गहिरो पकड भएका खरेलले समसामयिक मुद्दामा धारिलो विचार प्रस्तुत गर्दै लेख रचनाहरू प्रकाशित गर्दै आएका छन्। उनले सर्वोच्च अदालतसहित विभिन्न अदालतमा सयौं मुद्दा तथा रिट निवेदनमा प्रभावशाली बहस गरेका छन्।
युवाशक्ति, सुशासन र न्यायिक सचेतनालाई राजनीतिक मञ्चमा लैजाने अठोटसहित अधिवक्ता शुलभ खरेल अब रुपन्देही–३ बाट रासपाको भावी उम्मेदवारका रूपमा अघि बढ्दै छन्। सामाजिक सञ्जालमा #SulavforRupandehi3 को चर्चा बढिरहेको छ, जसले युवाहरूमा नयाँ उम्मेदवारप्रतिको आकर्षण झल्काउँछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता