सिस्ने गाउँपालिकाकी कोइली शाहको मृत्यु प्रकरण : पत्रकार परिचन्द्र खत्रीविरुद्ध पक्राउ पुर्जी जारी
६ साउन २०८२, सोमबार ११:५० मा प्रकाशित
Admin
रूकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यालय सहायकका रूपमा कार्यरत २३ वर्षीया कोइली शाह मृत अवस्थामा फेला परेको घटनामा एक पत्रकारविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमाशंकरप्रसाद यादवका अनुसार कोइली शाहको आत्महत्या प्रकरणमा पत्रकार परिचन्द्र खत्रीलाई आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धानको दायरामा ल्याइएको हो। शाहको परिवारले दिएको किटानी जाहेरीका आधारमा तीन दिनअघि नै जिल्ला अदालतबाट खत्रीविरुद्ध पक्राउ अनुमति लिइएको प्रहरी स्रोतले जनाएको छ।
डिएसपी यादवले भने, “पत्रकार खत्रीविरुद्ध दुई–तीन दिनअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। तर उनी मोबाइल स्विच अफ गरेर फरार छन्। खोजी कार्य जारी छ।”
शाह असार २८ गते बिहान आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनास्थलमा पुग्दा सलको सहारामा झुन्डिएको देखिए पनि उनी भुइँमा लडेको अवस्थामा फेला परेकी थिइन्। शवको पोष्टमार्टमपछि परिवारले अन्तिम संस्कार गरिसकेको छ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।