काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक काठमाडौंमा जारी रहेको छ। बैठकमा पार्टीको संगठन सुदृढीकरण, राजनीतिक रणनीति, विधेयकहरूमा धारणा निर्माण, तथा संविधान संशोधनसम्बन्धी छलफल प्राथमिक एजेण्डाका रूपमा रहेका छन्।
बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विभिन्न विधेयकमाथि गहन छलफल भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार, पार्टीका केन्द्रीय सदस्यहरूबीच संगठनात्मक संरचना, समीक्षा, रणनीति, सबलीकरण, तथा जागरण अभियानलगायत विषयमा विस्तृत छलफल भइरहेको छ।
संविधान संशोधनसम्बन्धी छलफल
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले संविधान संशोधन पनि बैठकको प्रमुख छलफलको विषय रहेको बताए। “हामी विभिन्न विधेयक र राजनीतिक मुद्दाहरूमा विस्तृत छलफल गर्दैछौं। संविधान संशोधनबारे महत्वपूर्ण बहस चल्नेछ। साथै, संगठनात्मक सुधार, प्रशिक्षण, र आगामी रणनीतिबारे पनि निर्णय लिइनेछ,” उनले भने।
स्थानीय तह उपनिर्वाचनको समीक्षा र आगामी रणनीति
बैठकमा हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक परिवेशमाथि विश्लेषण गरिएको छ। बैठकमा प्रदेशस्तरका महामन्त्रीहरू, संगठन विभागका प्रमुखहरू, तथा अन्य वरिष्ठ नेताहरूको समेत उपस्थिति रहेको छ।
बैठक आगामी दिनसम्म जारी रहनेछ, जसमा पार्टीको आगामी रणनीतिको स्पष्ट खाका तयार गरिने बताइएको छ।
—
Aama Darshan News